Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईमा चिट चोर्न प्रयोग भएका ४९६ मोबाइल र पाँचवटा ‘स्मार्टवाच’ नष्ट

एसईईमा चिट चोर्न प्रयोग भएका ४९६ मोबाइल र पाँचवटा ‘स्मार्टवाच’ नष्ट

बिहिवार , जेठ २१, २०८३

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ।

गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै आज नष्ट गरिएको हो।

मधेस प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताएकी थिइन्। सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो।

उपसमिति संयोजक यादवका अनुसार बरामद गरिएका मोबाइल तथा स्मार्टवाच जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा राखिएको थियो। त्यसपछि थप प्रयोगयोग्य नहुने गरी नष्ट गरिएको उनले बताए।

बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य रु एक करोडभन्दा बढी रहेको जनाइएको छ। केही अभिभावक तथा सरोकार भएकाले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए। तर, सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ।

मधेस प्रदेशमा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077