Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तस्करीको सुन बाँडफाँड गरेको अभियोग लागेका इन्सपेक्टरसहित चार प्रहरीलाई सफाइ

काठमाडौं । तस्करीको सुन बरामद गरी बाँडफाँड गरेर लिएको आरोप लागेका नेपाल प्रहरीका इन्सपेक्टरसहित चार जनाले सफाइ पाएका छन् ।

चार वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार फैसला सुनाउँदै बिशेष अदालतले सफाइ दिएको हो ।

रसुवाको सीमा प्रहरी चौकी टिमुरेका इन्सपेक्टर खेमप्रसाद नेपाल, हवल्दार रामकाजी लामा, पुरुषोत्तम खत्री र रामशरण रिमालविरुद्ध राजश्व चुहावटको मुद्दा दायर भएको थियो ।

६ लाख ७७ हजार रुपैयाँ बराबरको सुन उनीहरुले बाँडेर लिएको अभियोग थियो। जसमा अख्तियारले १२ असार २०७७ मा मुद्दा दायर गरेको थियो । जसमा प्रतिकुल बयान गरेको आधारमा कल्याणी सुवेदीविरुद्ध समेत गत असोजमा मुद्दा दायर भएको थियो ।

सुवेदीले समेत सफाई पाएकी छिन् । रसुवा नाकाबाट तस्करी भएको सुन टिमुरे चौकीले बरामद गरेकोमा प्रहरीले नै लुकाएको भन्दै छानबिन भएको थियो । सुन धनीकै उजुरीका आधारमा छानबिन भएको थियो ।

अनुसन्धानका क्रममा सुरुमा अख्तियारले इन्सपेक्टर नेपालसहित १६ जनालाई निलम्बन गरी अनुसन्धान गरेको थियो । जसमा चार जनाको संलग्नता देखिएपछि मुद्दा दायर भएको थियो ।

पीडित महिलाले नै अदालतमा फरक बयान दिएपछि उनीहरुले सफाइ पाएका हुन् । टिमुरे प्रहरीले रसुवागढी नाकाबाट आउँदै गरेको ना।६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्दा आधा किलो सुन फेला परेको थियो ।

११ पुसमा २०७६ मा कन्टेनर चालक फुर्वा शेर्पाको साथमा सुन फेला परेको थियो । जून घटनाको विषयमा त्यसबेला बागमती प्रदेश प्रहरी कार्यालयले एसएसपी किशोर कुमार दाहाल नेतृत्वको समितिले प्रारम्भिक छानबिन गरी अख्तियारमा प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077