Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिम प्रदेशले आफ्नो पहिलो खेलमै जित हात पारेको हो । दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो ।

यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो ।

सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २९.३ ओभरमै केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हो । सुदूरपश्चिम प्रदेशका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान शेर मल्लले अविजित ४२ रनको योगदान गरेका थिए ।

उनले ४४ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काए । नारायण जोशीले पनि टोलीका लागि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा चार चौका प्रहार गरे ।

त्यसअघि लुम्बिनी प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान प्रज्ज्वल थापाले ४२ रनको योगदान गरेका थिए । उनले ६८ बलको सामना गरी चार चौका पनि हिर्काए ।

मोहम्मद हुसैनले पनि २६ रन बनाए । ओपनर विराट भण्डारीले टोलीको खातामा २३ रन थपे । सुदूरपश्चिम प्रदेशका बलर नारायण जोशीले तीन विकेट लिए । भोजराज भट्ट र नरेन साउदले पनि दुई–दुई विकेट लिए । मिलन बोहराले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077