Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई एक सय ३४ रनको विशाल अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराएको थियो। दुई खेल खेलेको कर्णाली प्रदेशको भने यो पहिलो हार हो।

यसअघि आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो। सुदूरपश्चिमले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो ।

निकै ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशले भने ३७।२ ओभरमा अलआउट हुनुअघि एक सय ४३ रनमात्र बनाउन सक्यो । कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले चार विकेट लिए ।

उनले १० ओभरमा ३५ रन खर्चिएका थिए । विकास अग्रीले पनि दुई विकेट हात पारे । नारायण जोशी, भोजराज भट्ट र नरेश भट्टले एक–एक विकेट लिए । कर्णाली प्रदेशका लागि दीवान पुनले सर्वाधिक ३८ रन बनाए ।

उनले ५२ बलमा पाँच चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले २४ रन जोडे । हिमांशु शाहीले १७ रन बनाए । दिनेश अधिकारीले पनि २० रन बटुले । कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो। कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077