काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा आयात र निर्यात दुबै घटेको छ । चालु आ.व.को ६ महिनामा साढे ७ खर्बको आयात हुँदा ंजम्मा ७५ अर्बको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्ममा ७ खर्ब ६८ अर्ब १६ करोड ६६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो भने ७४ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।
नेपालले गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३.०९ प्रतिशतले कम वस्तु तथा सेवा आयात भएको छ ।
चालु आवमा आयात घट्दा निर्यातमा पनि उच्च कमी आएको छ । विभागको तथ्यांक अनुसार चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा ७.२३ प्रतिशतले घटेको छ ।
नेपालले गत आवमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
विभागअनुसार चालु आवको ६ महिनाको अवधिमा २ खर्ब ९ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ८८ अर्ब १६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यो वर्ष ६.३४ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।