Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस महामन्त्री शर्माले भने – हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्

    कांग्रेस महामन्त्री शर्माले भने – हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 570
    SHARES

    झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन्।

    महामन्त्री थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताएका हुन्।



    यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए ।



    उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरू भुईँ मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए ।

    महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको सालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताए ।

    कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए ।

    पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । शर्माले थापालाई प्रधानमन्त्री बनाउने पनि दोहोराए ।

    महामन्त्री शर्माले भने, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’

    समुदायमा कांग्रेस अभियानअन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापालगायत सहभागी थिए ।

    कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार