काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २६३ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भयो ।
आर्मीका कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए । बसिर अहमद ६३ बलमा ३ चौकासहित ३६ रनमा आउट भए ।
एक समय ८८–६ को दयनीय अवस्थामा पुगेको आर्मीलाई खेलमा फर्काउन सातौं विकेटका लागि कुशल र बसिरले ११३ रनको शतकीय साझेदारी गरेका थिए । आर्मीको सुरुवात भने राम्रो हुन सकेको थिएन ।
तीव्र गतिका बलर भोजराट भट्टको बलमा इमरान शेख ९ रनमै क्याच आउट भए । भोजराजकै बलमा सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की एज लागेर २ रनमा विकेटकिपर राजु रिजालबाट समातिन पुगेका थिए ।
कप्तान विनोद भण्डारी आजको खेलमा चल्न सकेनन् । भोजराजको बलमा मिडअनमा किरन ठगुन्नाबाट क्याच आउट हुनुअघि उनले मात्र २ रन बनाए । १० औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर विकाश आग्रीले सन्तोष कार्कीलाई ३० रनमा एलबीडब्लू आउट गरे ।
उनले २८ बलमा ५ चौका हाने । सन्दीप रजाली ३१ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए ।
सुदूरपश्चिमका तीव्र गतिका बलर भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । स्पिनर नरेन साउदले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । विकाश आग्रीको नाममा १ विकेट रह्यो ।