Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई १४ वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय भएको छ।

नेशनल अकाउन्टाबिलिटी ब्युरोका न्यायाधीश मोहम्मद बशिरले रावलपिण्डीमा खान र बिबीलाई १४ वर्ष जेल सजाय सुनाएका हुन् ।

राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजाय सुनाइएको हो।

अब खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर भएका छन्। मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो।

खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ।त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो।

गत अगष्टमा खानले आफू सत्तामा हुँदा सन् २०१८ देखि २०२२ सम्म ५ लाख १ हजार अमेरिकी डलर बराबरको सरकारी उपहार बेचेको भन्दै उक्त सजाय सुनाइएको थियो। पछि उक्त सजाय स्थगित भए पनि अन्य मुद्दा चलिरहेको हुँदा उनी जेलमै रहेका थिए।

हाल उनी अडियाला जेलमा छन्। पाकिस्तानमा फेब्रुअरी ९ मा आमनिर्वाचन छ। खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक-इ-इन्साफ पार्टीले पनि निर्वाचनमा भाग लिँदैछ।

तर चुनाव नजिकिएसँगै खानविरूद्ध एकपछि अर्को जेल सजाय सुनाइएको हो। उनले प्राप्‍त गरेको जेल सजायको भुक्तानी कसरी हुन्छ भन्ने यकिन भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077