Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाका केही टोल अझै विद्युत् पहुँचबाहिर, अध्यक्षको टोलसमेत अन्धकार !

अछाम । अछामको चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा विद्युत् जडानमा ढिलाइ हुँदा स्थानीय बासिन्दा अन्धकारमै बस्न बाध्य छन् ।

गाउँपालिकाका सबै वडामा विद्युत् पुगे पनि केही टोलहरूमा अझै बत्ती नपुगेका कारण नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका हुन् ।

हालसम्म पालिकाका सातै वडामा केन्द्रीय प्रसारण लाइन पुगेको छ । तर सबै टोलमा पूर्ण रूपमा विद्युतीकरण हुन भने बाँकी छ । पालिकाको वडा नम्बर २ मा हालसम्म आधा मात्रै विद्युतीकरण भएको छ भने बाँकी भागमा बिजुली पुग्न सकेको छैन । बिजुली नपुगेका टोलवासी आक्रोशित हुन थालेका छन् ।

वडा नम्बर २ गाउँपालिकाका वर्तमान अध्यक्ष भिम बहादुर साउँदको वडासमेत हो । तर पनि उनले पालिकाको जिम्मेवारी सम्हालेको झण्डै दुई वर्ष पुग्नै लाग्दासमेत उनकै टोलमा विद्युत् पुग्न सकेको छैन । उनको घर वडा नम्बर २ को मुल्ली टोलमा छ ।

सोही टोलमा बिजुली पुग्नु त परै जाओस् पोलसमेत अहिलेसम्म गाडिएको छैन । आफ्नै टोलका व्यक्ति पालिका अध्यक्ष भएपछि खुसी भएका सो टोलका जनता अहिले निराश छन् । अहिले रातिको समय अन्य टोलमा बलेको बत्ती हेरेर आफूहरूले चित्त बुझाउनु परेको उनीहरूको दुखेसो छ ।

सो टोलको गाउँ मुल्लीमा पोलसमेत गाडिएको छैन भने परमुल्लीमा पोल गाडिएको धेरै समयपछि भर्खर तार तानिएको छ । सो टोलका बासिन्दा पनि अहिलेसम्म अन्धकारमै बस्न बाध्य छन् । उनीहरू फोन गर्ने मोबाइलसमेत चार्ज लगाउन अर्को टोलमा पुग्छन् ।

स्थानीयका अनुसार मोबाइल चार्ज लगाउन पनि चौपाया वा मानिगडा जानुपर्ने बाध्यता छ । यस्तै सोही वडामा केही समय अगाडि मात्रै रातारात पोल चोरी भएर अर्को ठाउँमा सारिएको घटना सार्वजनिक भएको थियो ।

हालसम्म वडा नम्बर २ को ठुलागडा, चौपाया र मानिगडा वरपर मात्रै बिजुली बलेको छ । यस्तै अबको केही दिनमा गुरिनामा ट्रान्समिटर राखेर त्यस वरपरको टोलमा पनि बत्ती बाल्ने तयारी भइरहेको वडाध्यक्ष रण बहादुर साउदले जानकारी दिए । उनले सो ठाउँ वरपर बिजुली बालेपछि पनि अझै २५ प्रतिशत विद्युतीकरण हुन बाँकी रहने बताए ।

बाँकी टोलमा पनि छिटो भन्दा छिटो बत्ती बाल्न आफूहरूको तयारी रहेको उनको दाबी छ । यस्तै पालिकाका अन्य वडाका केही टोल पनि विद्युत् पुगेको छैन ।

यता गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले भने पालिकामा विद्युत् विस्तारको काम भइरहेको जानकारी दिए । उनले विद्युतका पोल नहुँदा समस्या भएको दाबी गरे ।

उनले आफूले पालिकाको जिम्मेवारी सम्हाले यता विभिन्न टोलमा विद्युत् पुगेको जिकिर गरे । यस्तै आफ्नो टोलमा अन्य टोल भन्दा पहिला बिजुली बाल्दा बिरोध हुने भन्दै पहिला अन्य टोलमा बत्ती बाल्ने तयारी रहेको समेत उनले स्पष्ट पारे ।

साथै पालिकाका सबै टोलमा विद्युत् पु¥याउने कामलाई तीव्रता दिइएको बताउँदै उनले टेन्डर समेत भइसकेको जानकारी दिए । उनले पोल नहुँदा निर्माणाधीन फोरजी टावरमा समेत बिजुली पु¥याउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077