Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अधुरै रह्यो रञ्जुको बेहुली बन्ने सपना, विहेको अघिल्लो दिन अर्नाले लियो ज्यान

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-३ की रञ्जुकुमारी मुखियाको विवाहको अघिल्लो दिन जंगली अर्नाको आक्रमणबाट मृत्यु भएको छ। रञ्जुकुमारीको सोमबार विवाहको तयारी थियो। तर आइतबार अर्नाको आक्रमणबाट उनको मृत्यु भयो।

गुलाबी मुखियाकी २१ वर्षीया छोरी रञ्जुकुमारीलाई कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएको हो।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोशी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले जानकारी दिए।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै मृत्यु भएको थियो।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिइन्। अकस्मात परेको बज्रपातले अहिले उनको परिवार मात्र होइन, गाउँ नै स्तब्ध भएको छ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही रु १० लाख उपलब्ध गराउँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077