Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अदालतले दियो सुनिल र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा पक्राउ परेका सुनिल र विकललाई थुनामा राख्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट तेस्रो पटक ७ दिन राख्ने अनुमति लिएको हो।

एक साता अघि दोस्रो पटक विशेष अदालतबाट लिइएको ७ दिन हिरासतमा राख्ने अनुमतिको म्याद बुधबार सकिएको थियो। त्यसकारण अख्तियारले फेरि एक साताका लागि हिजो याद थपेको हो।

सुनिल र विकललाई गैर कानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

दुवै जनाले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको अख्तियारको दाबी छ।

विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएको र उनीहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएको भन्दै पक्राउ पुर्जी दिई अख्तियारले दुई साता अघि हिरासतमा लिइएको थियो।

अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारले विकल पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077