Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस–युक्रेन युद्धमा मारिएका नेपालीका परिवारलाई दूतावासमार्फत राहत उपलब्ध गराउन रुसी सरकार सहमत

काठमाडौं । रुसी सरकारले रुस–युक्रेन युद्धमा मारिएका नेपालीका परिवारलाई राहत दिने भएको छ । आफ्नो सुरक्षा फौजमा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपाली राजदूतावासमार्फत राहत दिन रुसी सरकार तयार भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार नेपाल सरकारको तर्फबाट भएका पहलमध्ये मृतकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाइदिने प्रस्तावमा रुस सहमत भएको हो ।

उनले भने–‘रुसको सुरक्षा फौजमा भर्ती भएका नेपालीका विषयमा सरकारले गरिरहेको प्रयासमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने कुरामा महत्वपूर्ण उपलब्धि हात लागेकोे छ ।’

प्रवक्ता राईका अनुुसार रुसी सरकारले मस्कोस्थित नेपाली दूतावासलाई राहत रकम उपलब्ध गराउने भनेको छ । उक्त रकम परराष्ट्र मन्त्रालयमार्फत नेपाल ल्याइनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारलाई राहत रकम दिइने उनले बताए ।

यसअघि रुसले मृतकका परिवारलाई राहत रकम लिन परिवारका कम्तीमा एक सदस्य रुस नै पुग्नुपर्ने बताउँदै आएको थियो । नेपाल सरकारले पीडित परिवार राहत रकम लिनकै लागि रुस आउन कठिन हुने भन्दै दूतावासमार्फत उक्त रकम नेपाल पठाइदिन अनुरोध गर्दै आएको थियो ।

दूतावासमार्फत राहत रकम पठाउन रुस सरकार तयार भए पनि यो रकम कहिले आउँछ र कति हुने भन्ने टुंगो नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

रुसले गत जनवरीको सुरुवातमा पास गरेको आदेशमा युक्रेन युद्धमा सहभागी विदेशी नागरिकलाई नागरिकता दिने र राहत दिने उल्लेख गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त आदेशमा युक्रेनमा रसियाका लागि लड्ने विदेशी नागरिक र तिनका परिवारलाई नागरिकता प्रदान गर्ने भनिएको छ ।

त्यस्तै अर्को एउटा आदेशमा युक्रेनसँगको युद्धमा मारिएका रुसी सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्ति दिने र युद्धका क्रममा घाइते भएकाहरूलाई ३० लाख रुबल क्षतिपूर्ति दिने उल्लेख छ ।

परराष्ट्रमन्त्री एनपी साउदले गत माघ पहिलो हप्ता युगान्डाको राजधानी कम्पालामा असंलग्न आन्दोलनको शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेट गरेका थिए ।

त्यस क्रममा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077