Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मर्मत भइरहँदा घर भत्किएर एक जनाको मृत्यु, सात जनाको सकुशल उद्धार

मनाङ । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो।

घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो।

‘केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ,’ प्रजिअ लामिछानेले भने।

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतक घलेको शव पोष्टमर्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

‘माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ,’ उनले भने।

उनका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077