काठमाडौं । कर्तव्य ज्यान गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो ।
तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा संलग्न देखिएकोले सुवाललाई आज पक्राउ गरिएको हो ।
सूर्यविनायक जङ्गलमा रु दुई लाख लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको थियो ।
ढकालको शव गत फागुन ११ गते सुर्यबिनायक स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो । सुवाललाई काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो ।
मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको छ।