Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिचौलियाको सेटिङमा डीजी बनेलगत्तै घिमिरेद्वारा अरबौंको ठेक्कामा अर्थमन्त्रीको बद्नाम !

काठमाडौं । सहरी विकास मन्त्रालयका सहसचिव, सचिवहरुसँग ब्रिफिङ नहुँदै मंगलबार सहरी विकास तथा भवन निर्माण बिभागको महानिर्देशकमा कुमार घिमिरेको नियुक्ति भएको छ ।

सहरी विकास मन्त्रालयमा बरिष्ठ सहसचिवहरु पद्मकुमार मैनाली, नवराज प्याकुरेललाई उछिनेर कुमार घिमिरेलाई भवन बिभागको महानिर्देशक बनाउन सहरी विकास मन्त्री धनबहादुर बुढालाई कसको दबाब पर्यो भन्ने कुरा नवनियुक्त महानिर्देशक कुमार घिमिरेले नै खोल्न थालेका छन् ।

घिमिरेले नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई दररेट बुझाएर रातारात महानिर्देशक(डीजी) नियुक्त भएको स्रोतको दाबी छ । पाण्डे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन् । उनले नै नेकपा एसका मन्त्रालय अन्तर्गतका नियुक्तिको जिम्मा लिएका छन् ।

उनले बिभागको महानिर्देशक हुनका लागि केसी कन्ष्ट्रक्सनका म्यानेजर बिजय मानन्धरसँग सेटिङ गरेको खुलेको छ । टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भवन निर्माणका लागि बहुबर्षीय ठेक्का स्वीकृत गराउने सर्तमा मानन्धरले उनलाई डीजी बनाउन शक्तिकेन्द्रमा लगानी गरेको स्रोतले बताएको छ ।

बजेट सुनिश्चितता नै नगरी सरुवा रोग अस्पताल निर्माणका लागि बहुबर्षीय ठेक्का दिएको बिषय विवादमा छ । बहुबर्षीय ठेक्काको स्रोत सुनिश्चितता आजसम्म गरिसक्नुपर्ने निर्णय अघिल्लो गठबन्धनको मन्त्रिपरिषदले गरिसकेको छ । आजै राजपत्रमा सूचना नै प्रकाशित हुँदैछ । आज(बुधबार)सम्म स्रोतको सुनिश्चितता नभए अस्पताल निर्माणको ठेक्का प्रक्रिया नै रद्द गर्नुपर्ने छ ।

सरुवा रोग अस्पतालको ठेक्का बहुबर्षीय भएकाले अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्नुपर्छ । अर्थमन्त्री बर्षमान पुनलाई समेत मिलाइसकेको भन्दै महानिर्देशक घिमिरेले बहुबर्षीय ठेक्काको बजेट सुनिश्चितता गर्ने प्रतिबद्धता बिचौलिया बिजय मानन्धरसँग गरेका छन् ।

सहरी विकास मन्त्री सीतासँग सेटिङ मिलाएर हतार हतार आर्थिक प्रस्ताव खोले पनि बजेटको अझै सुनिश्चितता हुनसकेको छैन ।

नयाँ अर्थमन्त्री बर्षमान पुनको समेत नाम लिएर महानिर्देशक घिमिरेले अर्थमन्त्रालयबाट बजेट सुनिश्चितता गर्ने आश्वासन बिचौलिया मानन्धरलाई दिएका छन् । डीजी घिमिरेसँग यसबारेमा प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ठेक्का स्रोतको सुनिश्चितता नहुँदै कन्ट्याक्ट कन्ष्ट्रक्सनका संचालक प्रमोद अधिकारी र केसी निर्माण सेवाले पाएका छन् । जुन ठेक्का बिजय मानन्धरको सेटिङमा बजेट सुनिश्चितता नहुँदै दिइएको थियो ।

मानन्धरले यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतकी पत्नी बिनासँग डिल गरी बजेट सुनिश्चित गर्न लागेका थिए । ३ अर्ब ३३ करोड रुपैयाँको यो ठेक्काको बजेट सुनिश्चितता नहुँदै आर्थिक प्रस्ताव खोल्नका लागि शक्तिकेन्द्र प्रयोग गरिएको थियो ।

यही ठेक्काको बजेट सुनिश्चित गर्नेगरी अर्थमन्त्री पुनको समेत नाम लिएर कुमार घिमिरेले बिजय मानन्धरसँग ठूलै आर्थिक स्रोत लिएको र त्यो रकम नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई बुझाएर डीजी भएको चर्चा भवन बिभागमा छ ।

बिजय मानन्धरमार्फत् २ करोडको डिल गरिसकेपछि पाण्डेले मन्त्रीलाई ब्रिफिङ समेत नलिई घिमिरेलाई डीजी बनाउन दबाब दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077