Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विद्यालय भवन निर्माणमा ३ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले इशनाथ नगरपालिका-५ स्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा दुई कोठे भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इशनाथ नगरपालिकाका तत्कालीन इन्जिनियर सत्यपाल सौरभ,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता र आधारभूत विद्यालय लक्ष्मीनियाका तत्कालीन प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध मुद्दा दायर भएको छ।

उनीहरूविरुद्ध विद्यालयको भवन निर्माणका क्रममा मापदण्ड,गुणस्तर र इष्टिमेट विपरीतको काम गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन इन्जिनियर सौरभ,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ता र तत्कालीन प्रधानाध्यापक अख्तरले भ्रष्टाचार गरेको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

इन्जिनियर सौरभले फिल्डमा वास्तविक कार्य भएकोभन्दा बढी देखाइ भुक्तानी दिन सिफारिस गरेको अख्तियारको ठहर छ।

उनीमाथि ८८ हजार ६४७ रुपैयाँ बिगो असुल गरी सजाय हुन माग दावी गरिएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले भुक्तानी नहुनुपर्ने २ लाख ३५ हजार ८९५ रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उनीविरूद्ध सोही रकम बराबरको बिगो माग गरिएको छ। यसैगरी विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले भवन निर्माणको काममा झुट्टा विल बनाइ बढि भुक्तानी दिने कार्य गरी सार्वजनिक निकायलाई हानिनोक्सानी हुने कार्य गरेकाले उनीविरूद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो असुल र कैद सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077