Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशका डिआइजी पोखरेल पनि संकटमा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जिल्लाका एसपी तानेपछि प्रहरीमा तरंग उत्पन्न भएको छ ।

कार्यसम्पादनमा कमजोर रहेका र उजुरी परेका प्रहरी इन्चार्जलाई तत्कालै हटाइहाल्ने नीति पछिल्लोपटक गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको छ ।

जसअनुसार केही एसपी दुई महिना पनि नपुगी तानिएका छन् । तानिनेमा धेरैजसो मधेस प्रदेशका छन् । महोत्तरीका श्याम कुमार राई र सर्लाहीका दयानिधी ज्ञवाली दुई महिना पनि अवधि नपुगी तानिए ।

त्यस्तै, बाराका सुरेश काफ्ले, रौतहटका महेन्द्र श्रेष्ठ र धनुषाका मित्रबन्धु शर्मा कार्यसम्पादनको उजुरीका आधारमा अवधि नपुगी कारबाही स्वरुप तानिएका हुन् ।

मधेसका जिल्लामा अनियमितता बढेको उजुरीका आधारमा उनीहरु तानिएका हुन् । पर्साका कुमोध ढुंगेल र सिराहका सन्तोष आचार्य भने कार्यसम्पादन सन्तोषजनक भएको आधारमा जोगिएका हुन् ।

कमजोरी देखिएकामा उनीहरुलाई पनि हटाइहाल्ने प्रहरी प्रधान कार्यालयको चेतावनी छ । यो प्रकरणले मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको पनि कुर्सी हल्लिएको छ ।

उनको समेत मधेसमा बलियो कमाण्ड हुन सकेको छैन । आफैंले घुमुवा परिचालन गरेको समेत उजुरी परेका छन् । जसकारण एसपीहरु तानिएपछि डिआइजी पोखरेल पनि सतर्क भएको स्रोत बताउँछ ।

नयाँ सरुवा भएका एसपीलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशन दिदै कुनै कमजोरी देखिएमा तत्काल हटाउने चेतावनी आइतबार दिएका छन् ।

धनुषामा सरुवा भएका भुवनेश्वरी तिवारी, महोत्तरीमा नकुल पोखरेल, सर्लाहीमा रबिन्द्रबहादुर सिंह, बारामा महेन्द्र खड्का र रौतटहमा दिलिप घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, बाँकेका एसपी सुवास बोहरालाई पनि चार महिनामै हटाएर त्यहाँ तुलबहादुर कार्कीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077