Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सादा पोसाकमा प्रहरी नखटाउन हेडक्वाटरको परिपत्र, डीआईजी र एसपीका घुमुवा यत्रतत्र

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सादा पोसाकका प्रहरी परिचालन नगर्न १३ दिनअघि चैत १५मा परिपत्र गर्‍यो ।

तर प्रहरी प्रधान कार्यालयको परिपत्रलाई अवज्ञा गर्दै बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसीले प्रहरी सहायक निरीक्षक (असई) नवीन थापालाई प्रदेशकै घुमुवाको रूपमा खटाएका छन् ।

सूचना संकलनका लागि सादा पोसाकका घुमुवा खटाउनुपर्छ । तर नवीन थापा सूचना संकलनमा भन्दा पनि असुलीमा विवादित असई हुन् । विगत १२ वर्षदेखि मकवानपुरमा घुमुवा बसी बदनाम भएका उनलाई डीआईजी केसीले घुमुवा राखेका हुन् ।

असई थापाको दरबन्दी नुवाकोट हो । तर उनी प्रदेशमा डीआईजी केसीका घुमुवाका रूपमा कार्यरत छन् । यसअघि मकवानपुरको घुमुवामा कार्यरत हुँदा असुलीमा विवादमा आएपछि डीआईजी किरण राणाको कार्यकालमा उनलाई आईजीपी वसन्त कुँवरको ठाडो आदेशमा हुँदा प्रदेशमा तानियो ।

प्रदेशसँगैको गणमा थन्क्याइएका उनी असईको बेसिक तालिममा सिन्धुलीको दुधौली तालिम केन्द्रमा गए । असईको बेसिक तालिम समेत नगरी उनी मकवानपुरको घुमुवा बसेका थिए ।

त्यसै गरी, मकवानपुरका एसपी सीताराम रिजालले असई राजेश साहलाई देखावटीरुपमा प्रहरी चौकी सुनाचरीमा राखी काम भने घुमुवाको लगाउँदै आएको समाचार छ । सुनाचरी एरिया गाँजा खेतीको हब मानिन्छ ।

त्यो गाँजाको तस्करी हुने मुख्य रुटका रूपमा चिनिन्छ । सुनाचरीमा दरबन्दी भएका उनले गाँजादेखि गिटीबालुवा र ढुंगाका ठुला क्रसरबाट एसपीका लागि उठाउने गरेको स्रोतले बतायो ।

प्रहरी प्रधान कार्यालयले घुमुवा नराख्ने परिपत्र गरेपछि एसपी रिजालले सुनाचरीमा दरबन्दी राखेर साहलाई असुलीमा लगाएको आरोप छ ।

स्मरण रहोस्, ६० किलो सुन तस्करीमा जोडिएका जीवन चलाउनेसँग पनि एसपी रिजालको पटक पटक सम्पर्क भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077