Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गलत विवरण राखेर तीन लाख बढी भ्रष्टाचार, प्रधानाध्यापकसहित दुई जनाविरूद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका प्रध्यानाध्यापक र लेखापरीक्षकविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले साबिक कास्कीकोट गाबिस वडा नम्बर १ स्थित श्री सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र तत्कालीन लेखापरीक्षक कृष्णप्रसाद गौतमविरूद्ध मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध ३ लाख ७७ हजार २३६ रुपैयाँ बिगो रकम माग गरी बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

उनीहरूले हिसाबकिताब आम्दानी खर्च विवरणको हिसाब नबुझाएको, लेखापरीक्षण प्रतिवेदन यथार्थ नभएको, विद्यालय व्यवस्थापन समितिले लेखापरीक्षण प्रतिवेदनमा भएको शंकाको बारेमा निर्णय गर्दा प्रतिवेदनमा पनि स्क्यानिङ गरी शीर्षक मिलान गरेको भन्दै उजुरी परेको थियो।

आर्थिक वर्ष २०६८ साउनदेखि ०६९ असार र साउन देखि ०७० असार महिना सम्मको खर्च विवरणमाथि अख्तियारले अनुसन्धान गरेको थियो। उनीहरूले नगरेको काम समेत गरेको देखाएर विद्यालयको रकम लिने नियत राखेर भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट गरेको अख्तियारले जनाएको छ।

प्रतिवेदनमा पनि गलत विवरणहरू राखेर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। प्रधानाध्यापक सुवेदीले विद्यालयलाई ३ लाख ७७ हजार २३६ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको प्रवक्ता घिमिरेले बताए।

सुवेदीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को (घ) बमोजिम ५ महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरिएको छ। त्यस्तै गलत लिखत बनाएको भन्दै प्रधानाध्यापक सुवेदीलाई दफा ९ बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ सम्म जरिवाना पनि माग गरेको छ।

यता लेखापरीक्षक गौतमविरूद्ध दफा १९ गलत प्रतिवेदन दिएको भन्दै तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ सम्म जरिवाना माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077