Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्विट्जरल्यान्डले अन्तर्राष्ट्रिय युक्रेन शान्ति सम्मेलन गर्ने

एजेन्सी । स्विट्जरल्याण्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका छन् ।

सम्मेलनमा सय भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताएका हुन् । उनले स्विट्जरल्याण्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको बताए।

यसैबीच स्वीस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्विट्जरल्यान्डले युक्रेनमा शान्ति सम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको उल्लेख छ ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रहि युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो । यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

प्रेस विज्ञप्तिका अनुसार, स्विट्जरल्यान्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ ।

यसैबीच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्विट्जरल्यान्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए । परिणामस्वरुप स्विट्जरल्यान्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077