Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो ।

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका हुन् ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भए । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भए । समावेशी उपसचिवमा कविता राई विजयी भए । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भए। दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भए । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भए । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भए। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077