काठमाडौं । मोबाइल तस्करी सघाएर घुस लिने प्रहरी जवानलाई चार महिना कैद र ८७ हजार रुपैयाँ जरिवाना भएको छ । इप्रका बर्दघाटका प्रहरी जवान संजिव धवलले दोषी ठहर गरी सजाय सुनाएको हो ।
उनलाई घुस दिने भरतपुर महानगरपालिका वडा नम्बर–२१ का इन्द्रलाल श्रेष्ठलाई पनि सोही बराबर सजाय भएको छ । मोबाइल तस्करीमा संलग्न भरतपुर वडा नम्बर–८ स्थायी घर भएका अर्जुन प्रसाद शर्माले सफाइ पाएका छन् ।
जवान धवलले एक लाख ७५ हजार रुपैयाँ घुस लिएका थिए । गत ११ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा बिहीबार विशेष अदालतले फैसला सुनाएको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटना तस्करीसँग जोडिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । सोही छानबिन समितिले मोबाइल तस्करीमा प्रहरीले सहयोग गरेको देखिएको थियो ।
सोही आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो । २०७८ को साउनमा इन्स्पेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । इन्स्पेक्टरको मृत्यु मोबाइल तस्करीसँग जोडिएको र यसमा तत्कालीन प्रदेश डिआइजी मुकुन्द आचार्यको समेत मिलेमतो रहेको भन्दै कांग्रेस नेता देवेन्द्रराज कँडेलले बताएपछि छानबिन समिति बनेको थियो ।
जसमा नेपाल प्रहरीका तत्कालीन एसएसपी सुदीप गिरी र राष्ट्रिय अनुसन्धान विभागका लक्ष्मण गुरुङ थिए । गत २५ साउनमा इन्स्पेक्टर वाग्लेको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । मोबाइल तस्करीमा सहयोग गरेको भन्दै उनलाई गृहले निलम्बन गरेको थियो ।
सो घटनामा लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले इन्स्पेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ । जून मोबाइल पछि पूर्व नवलपरासी प्रहरीले बरामद गरेको थियो । त्यसमा डिआइजीको संलग्नता देखिएको र इन्स्पेक्टर वाग्लेले खटाएका जवानको संलग्नता पुष्टि भएको थियो ।