Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मामा बितेको खबर सामाजिक सञ्जालमा पोष्ट गर्दा घरमा चोरी

काठमाडौँ । काठमाडौँ शिक्षा क्याम्पसका सहप्रध्यापक वसन्तकुमार बरालले आफ्ना मामा बितेको खबर सामाजिक सञ्जालमा पोष्ट गरे । आफन्त सहित उनका परिवार आर्यघाट गए । यही बीचका समयमा घरमा लाखौँको धनराशि चोरी भयो ।

केही वर्षअघिको यो घटनाको मूल दोषी उनी आफैँलाई ठान्छन् । “यदि मैले सामाजिक सञ्जालमा घर बाहिर जाँदै गरेको सूचना नदिएको भए चोरी हुँदैन थियो”, उनले भने, “हामीले प्रविधि चलाउन जानेनौँ भने अपराध निम्त्याउँदोरहेछ ।”

एकता फाउन्डेसन नेपाल र चन्द्रागिरि नगरपालिकाद्वारा संयुक्त रुपमा आज आयोजित ‘साइबर सुरक्षासम्बन्धी विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रममा’ सहप्राध्यापक बरालले सामाजिक सञ्जालको सही प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वडाका एक सय ३० जना विद्यार्थी सहभागी थिए । नेपाल प्रहरी ,साइबर क्राइम ब्युरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले ‘साइबर सुरक्षासम्बन्धी’ कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले कतिपय घटना हुनुमा व्यक्ति आफैँ नै दोषी भएका बताए ।

“हामीले सामाजिक सञ्जाल माध्यमा व्यक्तिगत सूचना फेसबुकमा राख्दा पनि यस्ता आपराधिक क्रियाकलाप भएका छन्”, उनले भने, “अर्को कुरा भौतिकरुपमा कहिल्यै नभेटेको व्यक्तिसँग कुराकानी गर्दा पनि यस्ता घटना घटेको पाइयो ।” उनले प्रविधिको विकास त भयो त्यसको सदुपयोग गर्ने ज्ञानको अभावमा आपराधिक गतिविधि मौलाएको बताए ।

चन्द्रागीरि–१० का वडाध्यक्ष शिवकुमार महर्जनले सूचना प्रविधिले अवसरसँगै चुनौतीसमेत साथमा ल्याएको छ बताए । “यो चुनौतीको सामना गर्न हामी सबै जागरुक हुनुपर्छ”, उनले भने, “साइबर अपराधबाट जोगाउन वडाभरि नै चेतनामूलक कार्यक्रम गर्दैआएका छौँ ।”

एकता फाउन्डेसनका अध्यक्ष रामहरि शाहीले सूचना प्रविधिको बढ्दो विकाससँगै अपराध पनि बढिरहेको बताए । सहभागी बालबालिकाले प्रविधिको दुरुपयोग हुन नदिन चेतना जरुरी रहेकामा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077