Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् ।

मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसकेका छन् । मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेका छन् ।

सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई नेकपा एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन सकेको छैन ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ ,नेकपा (माओवादी केन्द्र) का सभामुख समेत ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077