Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो जस्तो मुलुकमा औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

राष्ट्रपति पौडेलले भने,‘गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ।’

उनले मुलतः स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने पनि बताए।

उनले पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलीयतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गर्दै देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगहरूको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाका लागि आवश्यक संरचना र स्थान उपलब्ध गराउन बेलैमा ध्यान जानु आवश्यक रहेको औंल्याए।

राष्ट्रपति पौडेलले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्द्धनका विशेष कार्यक्रम आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077