Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जर्नेलहरूको जन्म मिति कीर्तेले बदनाम हुँदै नेपाली सेना 

    जर्नेलहरूको जन्म मिति कीर्तेले बदनाम हुँदै नेपाली सेना 

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 3.8K
    SHARES

    काठमाडौं । एकपछि अर्को  उच्च पदस्थ सैनिक अधिकारीहरू जन्म मिति विवादमा मुछिन थालेपछि नेपाली सेना नै बदनाम हुन पुगेको छ । सेना जस्तो उच्च अनुशासनमा चल्नुपर्ने संगठनमा जन्म मिति नै कीर्ते हुने विषयले सेनाप्रति नागरिकमा नकारात्मक धारणा बढ्दै गएको छ ।

    पछिल्लो समय रथी अशोक सिग्देलमाथि जन्म मिति कीर्तेमा अनुसन्धान भइरहेको छ । सिग्देल तीन महिनाअघि सैनिक नेतृत्वमा पुग्ने अधिकारी हुन् । उनले दुई वर्ष जन्म मिति सच्याएको विषयमा प्रमाणसहित विभिन्न निकायमा उजुरी परेपछि यो विषय टुंगो नलगाई उनलाई सैनिक नेतृत्व सुम्पँदा सेना थप बदनाम हुने अवस्था छ ।



    ‘जन्म मिति विवादमा भोलि प्रधानसेनापति नै बर्खास्त हुने अवस्था आयो भने सेनाको मनोबल के हुन्छ,’ एक सैनिक अधिकारी भन्छन्,‘त्यस कारण यो विषयमा छिटो छानविनबाट टुंगो लगाउनुपर्छ ।’ हाल गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको विषयमा छानविन गरिरहेको छ ।



    सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको  प्रमाण बाहिर आएका छन् ।
    रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । जन्ममिति सच्याउनकै लागि जाजरकोट बसाई सरेर उनले नयाँ नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ ।

    सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिएकाले पनि यो विषय गम्भीर छ ।
    सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए ।

    त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ । जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्थामा सैनिक नेतृत्वको दाबी गरिरहेका छन् ।

    यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । यसअघि उपरथी प्रेम शाही त यस्तै घटनामा पक्राउ नै परेका थिए । त्यस्तै, रथीहरू हेम खत्री, गणेश कार्की, कृष्ण गुरुङ, ज्ञानेन्द्र रायमाझी, शैलेन्द्रशमशेर थापा लगायत सैनिक अधिकारीहरूमाथि जन्ममिति विवादमा छानविन भई कारबाहीमा परेका थिए ।

    हाल रथी नै छानविनमा परेपछि यो विषयले सिंगो संगठन नै बदनाम हुँदै गएको छ । उस्तै प्रकरणमा शक्तिशालीलाई छानविन नगर्ने र पहुँच नभएकालाई बर्खास्त गर्ने सैनिक कार्यशैलीका कारण यो विषयले सेनालाई थप कमजोर समेत बनाउँदै लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार