Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीले बुझ्यो सूर्यदर्शन सहकारीको प्रतिवेदन, रवि लामिछानेले एक करोड लगेको निष्कर्ष !

कास्की । पोखरा महानगरपालिकाले समस्याग्रस्त सहकारी सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रतिवेदन मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

विशेषज्ञका रूपमा नियुक्त एफसिए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले प्रतिवेदन तयार गरेका हुन् । प्रतिवेदन ३४१९ पृष्ठ लामो रहेको छ ।

सो समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैले माग फारम भरेर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रूपैयाँ ऋण लगेको निष्कर्ष निकालेको छ ।

लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिको दाबी छ । लामिछानेले सो ऋण माग गरेपछि ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमा एक करोड रूपैयाँ गएको पनि छानबिन समितिको निष्कर्ष छ ।

गृहमन्त्री लामिछानेको भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको प्रष्टोक्ति छ । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राई ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुन् । उनी अहिले फरार छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट रकम अपचलन आरोपमा १९ जनालाई विपक्षी बनाएर दायर गरिएको मुद्दा कास्की अदालतमा विचाराधीन छ।

सहकारीको बचत खातामा १८ हजार सात सय जनाले कुल एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ राखेको प्रतिवेदनमा उल्लेख छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077