Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चौरपाटी गाउँपालिकामा 'रैथाने बाली प्रवर्द्धन र संरक्षण' अभियान सुरु

अछाम । अछामको चौरपाटी गाउँपालिकामा पनि 'रैथाने बाली संरक्षण र प्रवर्द्धन' अभियान सुरु भएको छ । गाउँपालिकाको सहयोग तथा कृषी ज्ञान केन्द्र अछामको समन्वय तथा रेडियो सोसाइटी एफएमको आयोजनामा वडा नम्बर ७ मार्कुबाट सो अभियान सुभारम्भ भएको हो ।

ग्रामीण नेपालको रुपान्तरणका लागि 'रैथाने बाली प्रवर्द्धन र संरक्षण अभियान' भन्ने नारासहित अभियान सुरु गरिएको छ । पछिल्लो समय रैथाने बालीहरु लोप हुन थालेपछि स्थानीय सरकारहरुले पनि संरक्षणको अभियान थालेका छन् । सोही अनुसार शुक्रबार वडा नम्बर ७ र ६ मा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुले रैथाने बालीको संरक्षणमा जोड दिएका थिए । यहाँ उत्पादन हुने कोदो, सिमी, कागुनो, वेथे, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेर कृषि ज्ञान केन्द्र पनि जुटेको छ ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको विभिन्न सरोकारवाला व्यक्तिहरुको भनाई थियो ।

तर नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको भन्दै स्थानीय किसानले चिन्ता व्यक्त गरेका थिए । रैथाने बाली उत्पादनका लागि चौरपाटी गाउँपालिका अब्बल मानिन्छ । तर पछिल्लो समय उत्पादनमा कमी हुँदै आएको छ ।

यहाँबाट पछिल्लो समय दिवाखाजाका लागि पनि अन्य स्थानीय तहमा रैथाने बालीका परिकारहरु पठाउने गरिएको दाबी गरिएको छ । साथै चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वषको नीति तथा कार्यक्रममा पनि कृषीलाई पहिलो प्राथमिकता दिएको छ ।

शुक्रबार वडा नम्बर ७ र ६ मा सो कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद, उपाध्यक्ष सरदेवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, जनप्रतिनिधि, कृषी शाखाका प्रमुख, स्थानीय कृषक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077