Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रैथाने बाली संरक्षणमा जुट्यो चौरपाटी गाउँपालिका, अध्यक्ष भन्छन् - पकेट क्षेत्र तोक्छौँ

अछाम । रैथाने बाली लोप हुँदै गएपछि अछामको चौरपाटी गाउपालिका संरक्षणमा जुटेको छ । आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण चौरपाटीमा रैथाने बाली लोप हुन् थालेपछि गाउँपालिका बाली प्रवर्द्धन र संरक्षणमा जुटेको हो ।

उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले रैथाने बाली खेती गर्न छोड्दै गएका छन् । जसकारण रैथाने बाली लोप हुने अवस्थामा छन् । तर चौरपाटी गाउपालिकाले रैथाने बाली जोगाउन कुनै एउटा वडालाई छनौट गरी पकेट क्षेत्र निर्धारण गर्ने तयारी थालेको छ ।

सोमबर गाउँपालिकाको परिसरमा सम्पन्न भएको ‘रैथाने बाली संरक्षण र प्रवर्द्धन’ अभियान कार्यक्रममा बोल्दै अध्यक्ष भिम बहादुर साउँदले सो कुरा जानकारी गराएका हुन् । किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्ने पनि उनको भनाई थियो ।

उनले रैथाने बालीको बिकासका लागि पहिलो चरणमा कुनै एउटा वडाको निश्चित क्षेत्रलाई छनौट गरिने जानकारी दिए । सो ठाँउलाई नमूनाका रुपमा विकास गरेर आगामी वर्षहरुमा सातै वडामा बिस्तार गर्ने गरी रैथाने बाली प्रवर्द्धन र संरक्षण गरिने उनको दाबी छ ।

वडास्तरमा जाँदा गाँउका किसानहरुसँग दुर्लभ जातका अन्नबालीका बिउहरु भेटिएकाले त्यस्ता बिउ संकलन गरेर छनौट गरिने क्षेत्रमा उत्पादनका लागि पठाइने अध्यक्ष साउँदले बताए । यसैगरी प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले पनि रैथाने बाली प्रवर्द्धन गर्न बृहत रुपमा अभियान थालिने बताए ।

उनले अन्य वर्षहरुमा रैथाने बालीका क्षेत्रमा बजेट खर्च हुने गरेको भएपनि खास उपलब्धी नदेखिएको बताउँदै यो पटक अभियानकै रुपमा प्रत्येक वडामा पुगेर रैथाने बालीको अवस्था अध्ययन गरी विशेष पकेट क्षेत्र निर्धारण गर्ने योजना बनाइएको उनको दाबी छ ।

यस्तै रैथाने बालीको उत्पादन बढाउन र किसानलाई आकर्षित गर्न गाउँपालिकाभित्रका विद्यालयमा दिवाखाजाका रुपमा रैथाने बालीका परिकारहरु खुवाइँदै आएको छ ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी पाइन्छ ।

गाउँपालिकाको सहयोग तथा कृषी ज्ञान केन्द्र अछामको समन्वय तथा रेडियो सोसाइटी एफएमको आयोजनामा सातवटै वडामा ‘रैथाने बाली संरक्षण र प्रवर्द्धन’ अभियान कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077