काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव डा। अग्नेज कल्लामार्डले भेटवार्ता गरेकी छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको भेटमा मानव अधिकार, सङ्क्रमणकालीन न्याय र प्रेस स्वतन्त्रतालगायत विषयमा छलफल भएको पार्टीका कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार अध्यक्ष ओलीले नेपालमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मानव अधिकार र सुशासनको सुनिश्चित गरिएको बताएका थिए ।
साथै उनले सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लगाउँदा पीडितले न्याय पाउने कुरा, अन्तर्राष्ट्रिय मान्यता र अदालतको आदेशलाई ध्यान दिनुपर्ने र गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने पार्टीको धारणा रहेकाबारे समेत स्पष्ट पारेको अधिकारीले बताए ।
भेटमा महासचिव कल्लामार्डले नेपालमा सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने विषय, प्रेस स्वतन्त्रता र सामाजिक तथा लैङ्गिक विभेद्जस्ता विषयमा जिज्ञासा राखेका थिए ।