Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनले अराजक व्यवहार देखाए, अब प्रतिकार हुन्छ : सडक डिभिजन काठमाडौं

काठमाडौं । कार्यालयको गेटमा फोहोर फालिएपछि काठमाडौं महानगरपालिकालाई सडक डिभिजन काठमाडौंले प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।

शनिबार साँझ महानगरका प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै धुलो पठाएका थिए ।

तर शनिबार राति सडक डिभिजन कार्यालय काठमाडौंले एक विज्ञप्ति निकाल्दै अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको हो ।

कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाडौंको गम्भिर ध्यानाकर्षण भएको छ ।

'काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ,' विज्ञप्तिमा उल्लेख छ ।

डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई सडक डिभिजनको रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'सडक डिभिजन काठमाण्डौँको कार्य क्षेत्र भित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्र सँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाण्डौं बाध्य हुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077