Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बजेट निर्माणमा सल्लाह नगरेको भन्दै अर्थमन्त्री पुनसँग एमाले असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणमा सल्लाह नगरेको भन्दै अर्थमन्त्री वर्षमान पुनसँग असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै उपाध्यक्ष पौडेलले अर्थमन्त्री पुनप्रति प्रमुख सत्ता साझेदार दलसँग सल्लाह नगरेको बताएका हुन् ।

उपाध्यक्ष पौडेलले भने,‘बजेट निर्माणको समयमा अर्थमन्त्रीको व्यस्तता हुन्छ । अर्थमन्त्रीजी यस्तो व्यस्त हुनुभयो कि सरकारमा रहेका दलका नेतासँग सरसल्लाह गर्न र सुझाव लिन समेत भ्याउनुभएन।’

उनले बजेटमा ल्याइएको नयाँ चरणको आर्थिक सुधार र त्यसमार्फत कहाँ जान चाहेको हो भन्ने सन्दर्भमा पनि प्रश्न गरे । आर्थिक सुधारका लागि उच्चस्तरीय सुझाव आयोग गठन गर्ने बजेटको प्रावधानमा उपाध्यक्ष पौडेलले प्रश्न गरे ।

शनिबार संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटमा ‘जनयुद्ध’को रङ देखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरिएको भए पनि चालु आवको तुलनामा आगामी आवको भन्दा बजेट घटेको उपाध्यक्ष पौडेलले बताए।

कृषिमा लगानी दशकजस्तै सूचना प्रविधि क्षेत्रमा पनि लगानी दशक घोषणा भएकाले कुन क्षेत्रलाई प्राथमिकतामा राख्न खोजेको हो भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ।

गाँजा खेतीलाई वैधानिकता दिनेबारे विस्तृतमा अध्ययन गरिनुपर्ने र यसका सकारात्मक तथा नकारात्मक पक्षको विश्लेषण गरिनुपर्ने उपाध्यक्ष पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077