Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा एक हजार ५०० किलोमिटर सडक स्तरोन्नति

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप ११९ किलोमिटर सडक कालोपत्रे र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ । गत आव २०७९र०८० सम्म ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर कालोपत्रे भएको थियो ।

“प्रदेश स्थापना भएदेखि हालसम्म ८८२ किलोमिटर सडक कालोपत्रे र ढलान गरी स्तरोन्नति गरेका छौँ”, उक्त मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, “सडक निर्माण र स्तरोन्नतिमा हालसम्म रु ४८ अर्ब भन्दा बढी खर्च भएको छ ।”

बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार ४६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो । यस वर्ष १२७ प्रादेशिक सडक, पाँच वटा संघीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुंगे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन् ।

निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुंगे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077