काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो चुनौती दिएका हुन् ।
महामन्त्री शर्माले भने,'गृहमन्त्रीलाई भन्न चाहन्छु । तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।'
महामन्त्री शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्रीसँग आग्रह गरे । कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप प्रमाणित गरेर देखाउन उनले चुनौती दिए ।
सर्वोच्च अदालतले गिरिबन्धुको जग्गामा ओली मन्त्रिपरिषद्ले नीतिगत भ्रष्टाचार गरेको भनेर पूर्णपाठ सार्वजनिक गरेलगत्तै ओलीले कांग्रेसलाई आरोपित गरेको महामन्त्री शर्माले बताए ।
शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको महामन्त्री शर्माले आरोप लगाए ।
महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।