काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा संलग्नहरूलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन् । उनले बुधबार पोखरामा सहकारीको बचत फिर्ता नपाएर आन्दोलन गरिरहेकाहरूमाथि सरकारले डन्डा बर्साएको बताए।
अध्यक्ष केसीले भने,‘लोकतन्त्र, गणतन्त्र प्राप्तिको आन्दोलनमा जुन किसान, मजदुरहरूले साथ दिए, अहिले राज्यसत्तामा रजाइँ गर्ने कमरेडहरूलाई। उहाँहरूले जम्मा गरेको रकम अपचलन भएपछि हिजोभन्दा पहिले सम्माननीय प्रधानमन्त्री पोखरा जाँदा ती सहकारीपीडितहरूले विनम्रतापूर्व बिन्ती पत्र हालेका थिए। गण्डकीमा, ढोरपाटनमा मेयर भूमिगत छन्। यी सबैलाई राज्यसत्ताले संरक्षण गरिराखेको छ। यहाँ संसदमा भएका धेरै सांसदलाई थाहा छ, सहकारीको पैसा कसले अपचलन गरेको छ?’
उनले राज्यसत्तामा पहुँच भएको रजाइँ गरेकाहरूले सहकारीको वचत हिनामिना गरेको बताएका छन्। यस्तो अवस्थामा चोरलाई चौतारो र साधुलाई दण्डको शैलीमा सरकार प्रस्तुत भएको अध्यक्ष केसीले बताए।
अहिले बनाइएको छानबिन समितिले पनि प्रतिवेदन बुझाउने बाहेक समाधान नदिने बताए।
सत्तामा बसेर सहकारीको बचत अपचलन गर्नेहरूले समितिले दिएको प्रतिवेदन कसरी कार्यान्वयन गर्ने भन्दै प्रश्न पनि गरे। अध्यक्ष केसीले अहिलेको समिति टालटुले र पीडकलाई जोगाउने किसिमको भएको पनि बताए।