एजेन्सी । इजरायली सेनाले गाजास्थित संयुक्त राष्ट्र संघीय विद्यालयमा हवाइ आक्रमण गरेको छ ।
हमास कार्यालय परिसर रहेको भन्दै इजरायली सेनाले विद्यालयमा हवाइ आक्रमण गरेको हो । हवाइ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४० पुगेकोछ ।
जसमा १४ बालबालिका र ९ महिला रहेका छन् । इजरायली सेनाले मध्य गाजाको नुसिरात क्षेत्रमा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत निकाय (युएनआरडब्लुए) विद्यालयभित्र रहेको हमासको कार्यालय परिसरमा इजरायली हवाइ आक्रमण हुँदा कैयौँको मृत्यु भएको बताएको छ ।
इजरायलले गाजामा हमास र यसका सहयोगीहरूलाई विद्यालय, स्वास्थ्य सुविधाहरू र अन्य नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप बारम्बार लगाउँदै आएको छ ।
इजरायलले गाजालाई लगभग सबै सहयोगको समन्वय गर्ने युएनआरडब्लुएलाई आफ्नो १३ हजार कर्मचारीहरू मध्ये करिब एक दर्जनलाई आक्रमणमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएदेखि नै सहयोग अभियानमा समस्या परेको छ ।
गाजाको अहिलेसम्मको सबैभन्दा रक्तपातपूर्ण युद्ध हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको हो ।
इजरायलले युद्धको सञ्चालनलाई लिएर बढ्दो कूटनीतिक आलोचना खेप्नु परेको छ ।
इजरायलबिरूद्ध दुई अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दा दायर गरिएको छ र केही युरोपेली राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् ।