चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग अनावश्यक विवादमा पर्न नचाहेको बताएका छन् ।
आज चितवनको भरतपुर पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको बदमासी रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भन्ने स्टाटस फेसबुकमा पोस्ट गरेका थिए।
अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै भन्ने टिप्पणी गरे।
अध्यक्ष ओलीले भने,‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो थाहा पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ ४ लात हाने यसपल्ट भनेर । म कसैसँग अनावश्यक विवादमा पर्न चाहिन्न, राष्ट्रिय राजनीतिलाई जिम्मेवार परिपक्व र सभ्य बनाउनुपर्छ । राजनीतिलाई असभ्य बनाउनु हुँदैन।’
अध्यक्ष ओलीले आफू परिपक्व र सभ्य राजनीतिको पक्षमा रहेको बताए।
गिरीबन्धु टी स्टेटको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराएको भन्दै मेयर बालेनले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।