Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हाम्रो पार्टी फुटेको होइन, केही साथीहरू मन्त्री बन्न बाहिरिएका हुन् : उपेन्द्र यादव

जनकपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर आफ्नो पार्टी फुटाइएको बताएका छन् ।

शनिबार जनकपुरमा बोल्दै अध्यक्ष यादवले आफूहरुको पार्टी विभाजन नभएको दाबी गरेका हुन् ।

अध्यक्ष यादवले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरुलाई चोइट्याइए पनि पार्टी यथावत रहेको बताए ।

अध्यक्ष यादवले भने,‘राज्यको स्रोत, साधन र शक्ति लागेर केही सांसद, केही व्यक्तिलाई लगेको हो । पार्टी यथावत नै छ । यो धनुषामा पनि एकजना मान्छे छैन होला जो गएको होला । पार्टी होइन केही व्यक्ति चोइटाएर लगेका हुन् । राज्यले आफ्नो स्रोत, साधन र शक्ति प्रयोग गरेर हाम्रा केही पार्टीका नेताहरुलाई मोहरा मात्र बनाइएको हो ।’

पार्टी छाडेर गएका नेताहरुको अर्को दल दर्ताका लागि निर्वाचन आयोगलाई समेत प्रभावित पारिएको अध्यक्ष यादवले बताए ।

स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाएर जसपा नेपाल फुटाईएको अध्यक्ष यादवले दाबी गरे ।

पार्टीमा कुनै राजनीतिक तथा सैद्धान्तिक मतभेद नभएको भन्दै मन्त्री बन्न र धन कमाउन नेताहरु चोइटिएको टिप्पणी गरे ।

गत महिना प्रतिनिधिसभामा १२ सिट रहेको जसपा नेपालका ७ सांसदले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

निर्वाचन आयोगले अशोक राईको अध्यक्षतामा जनता समाजवादी पार्टी नाममा उक्त दल दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077