Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा पुग्यो रथी सिग्देलको कीर्ते नागरिकता प्रकरण

काठमाडौं । नेपाल सेनामा नेतृत्व परिवर्तनको मिति नजिकिदै गर्दा रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण पेचिलो बन्दै गएको छ ।

सिग्देलमाथि छानविनका लागि संसदमा समेत कुरा उठेको छ । आम जनता पार्टीका सांसद प्रभु शाहले शुक्रबार संसदमा बोल्दै सिग्देलमाथि छानविनको माग गरेका हुन् ।

उनको दुई वटा नागरिकता रहेको विवरण प्रमाणसहित मिडियामा आएको भन्दै यसमा सरकार मौन बस्न नमिल्ने भन्दै रक्षामन्त्रीसँग समेत यसको जवाफ माग गरेका छन् । प्रधानसेनापतिमाथि समेत यस विषयको नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।

‘सेनाको विषयमा विवादित विषयहरु बाहिर आइरहँदा सम्बन्धित निकायले स्पष्ट किन गर्दैन ?’ उनले प्रश्न गरे,‘देशको रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ । देशको सम्मानित संस्थामाथि प्रश्न उठ्दा रक्षामन्त्री चुप लागेर बस्न मिल्दैन ।’

रथी सिग्देलका कारण सिंगो नेपाली सेना बदनाम भइरहेको छ । उनले जन्ममिति सच्याएर नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र सच्याएको प्रमाणसहितका विवरण बाहिर आएका छन् ।

तर, पनि सेनाले उनकै सिग्देललाई भावी प्रधानसेनापतिका रुपमा अघि बढाएपछि सेनामाथि सर्वत्र प्रश्न उठेको छ । यसले सिंगो संगठन नै बदनाम हुँदै गएको भन्दै छानविनको माग सेनाभित्रै पनि उठ्न थालेको छ ।

के हो सिग्देलको विवाद ?

गृहमन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म रथी सिग्देलको नागरिकता तथा शैक्षिक प्रमाणपत्रमा जन्ममिति हेरफेर गरिएको प्रमाणसहित उजुरी परेपछि छानविन भइरहेको छ । सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा कीर्ते गरेर २०२३–१०–१९ बनाइएको कागजपत्रहरु छन् ।

रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए ।

त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत प्रष्ट देखिन्छ ।

सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिन्छ ।

सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ ।

नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।
जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ ।

उनको नागरिकता नम्बर समेत फरक फरक छन् भने दुई वटै नागरिकता प्रयोग गरिरहेका छन् । प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ । जुन नागरिकता राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको छैन ।

अर्काेतर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए । त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो ।

यस्तो अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ । जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ ।

त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए । पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन । जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ ।

२०४०/०४/२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३/१०/१९ उल्लेख गरिएको छ । रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन् ।

उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ । पछि सरकारी ढड्डाहरुमै जन्ममिति सच्याएको प्रष्ट देखिन्छ । सेनाको भर्नामा उमेरहद कटेपछि यसरी उमेर नै सच्याइएको आशंका गरिएको छ ।

यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए ।

विवादास्पद व्यक्तिलाई गौरवशाली संगठनको नेतृत्व सुम्पदा आगामी दिनमा सेनाको गरिमा खस्कने सैनिक अधिकारीको चिन्ता छ ।

नेपाली सेनामा आगामी २४ भदौमा नेतृत्व परिवर्तन हुँदैछ । त्यसअघि नै सिग्देलको विषयमा विस्तृत छानविन गर्नुपर्ने दबाब सेना र सरकारमाथि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077