Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाबाट एसईईमा १६.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ७ जनाले ल्याए 'ए ग्रेड'

अछाम । अछामको चौरपाटी गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५४ जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका सातवटा माध्यमिक विद्यालयका ३३५ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ५४ जना अर्थात १६.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार यस पटक सबैभन्दा बढी विद्यार्थी पास गर्न सफल शान्ति माध्यमिक विद्यालय भएको छ भने गगुडा माध्यमिक विद्यालयको नतिजा शुन्य आएको छ । शान्ति माविबाट परीक्षामा सहभागी ५८ जनाबाट १८ जना पास भएका छन् भने गगुडा माविका परीक्षा दिएका सबै अर्थात् ९ जना फेल भएका छन् ।

यस्तै सिउँडी माध्यमिक विद्यालयले ५७ जनाबाट एक जनालाई पास गर्न सफल भएको छ । दशपल्लेपानी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ६७ विद्यार्थीमध्ये ८ जना पास भएका छन् । दयापिपलतोला माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३८ मध्येबाट ८ जना पास भएका छन् ।

देवीमान्डौँ माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी ४८ विद्यार्थीमध्ये १० जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । यसैगरी बैजनाथ माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका ५८ जनामध्ये ९ जना उत्तीर्ण भएका छन् ।

यस्तै गाउँपालिकाको शिक्षा शाखाका अनुसार पालिकाभर सात जनाले ‘ए’ ग्रेड ल्याएका छन् भने १५ जना 'बी प्लस', २६ जना 'बी' र ६ जना 'सी प्लस' ल्याएर उत्तीर्ण भएका हुन् ।

पालिकाभरबाट परीक्षामा सहभागी ३३५ जना विद्यार्थीमध्ये २८१ जना ननग्रेड अर्थात् असफल भएका छन् । अहिले चौरपाटीका विभिन्न विद्यालयको नतिजा कमजोर आएपछि चर्को अलोचना भइरहेको छ ।

कतिपयले शिक्षामा राजनीति र विद्यालय प्रशासन र व्यवस्थापन समितिको कमजोरीका कारण एसईईको नतिजा लज्जास्पद आएको भन्दै विरोध गरिरहेका छन् । सो विषयमा अहिले पक्ष र विपक्षमा सामाजिक सञ्जाल लगायतमा चर्को बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077