Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करी प्रकरणमा १ खर्बभन्दा बढी पेवेल र सजिलो–पेबाट भुक्तानी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ ।

प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का अनुसार दुई भुक्तानी साधन ‘वालेट’ माथि गरेको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो ।

सीआईबीले आज पत्रकार सम्मेलन गरी यी दुई सेवा प्रदायक संस्थाहरूबाट अवैध सुन कारोबारको भुक्तानीमा सहजीकरण भएको बतायो।

२०८० वैशाख १३ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २ सय ५३ रुपैयाँबराबरको इ-मनी क्रेडिट भएको देखिएको सीआईबीले जनाएको छ । जसमध्ये सबैभन्दा बढी ६१ अर्ब ५० करोड रुपैयाँ भौचर डिपोजिटमार्फत भएको छ ।

त्यस्तै २०७९ जेठ २ गतेदेखि २०८१ जेठ २१ सम्म सजिलोपेको वालेटमा ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २ सय ४७ रुपैयाँबराबरको इ-मनी लोड भएकोमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७ सय ५८ रुपैयाँबराबरको भौचर अपलोड गरी भुक्तानी भएको देखिएको सीआईबीको भनाइ छ ।

अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल र सजिलोपेको खातामा बचत, रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्यौट भएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । १ अर्बभन्दा बढीको भौचर र विवरण प्राप्त भएको समेत सीआईबीको दाबी छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना एजेन्टमार्फत नगद कारोबार गरेको देखिएको छ । रकम भुक्तानी गर्दा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रूपमा पेस गर्नुपर्ने विवरणमा गलत तथ्यांक पेस गरेको पनि सीआईबीले जनाएको छ ।

स्थापनादेखि यी गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको छ ।

सीआईबीले प्रतिवादी राजु खत्री, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सिद्धार्थ अशोक गाएकवाड लगायतलाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ ।

यसैगरी बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्टले पनि पटक पटक गरी अर्ब रुपैयाँ सुन तस्करीको भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको सीआईबीले जनाएको छ ।

दुई नम्बरी कारोबारमा संलग्न देखिएपछि अनुसन्धान थालेको सीआईबीले यी दुई कम्पनीको बैंक खाता रोक्का गर्न नियामक केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’ लाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077