सुर्खेत।। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको प्रदेश सरकार भागबण्डाअनुसार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही बन्ने निश्चित भएको छ।
मुख्यमन्त्री चयनका लागि आइतबार सुर्खेतमा संसदीय दलको बैठक बोलाइएको छ।
मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको सहमतिअनुसार मुख्यमन्त्री बनाउने समझदारी भएको हो।
यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। कांग्रेस र नेकपाले असार ३२ गते कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
राजीनामा घोषणा गर्दै कँडेलले सत्ता आफ्नो लागि ठूलो विषय नभएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको सम्मानस्वरूप पद त्यागेको बताएका थिए। उनले २०८० चैतमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
उनी सुरुमा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए भने २०८१ साउनदेखि काँग्रेससँगको गठबन्धन सरकारको नेतृत्व गर्दै आएका थिए ।