Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोडको गरगहना लुटपाट, पाँचजना पक्राउ

चितवन । चितवनको एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

जिल्लाको कालिका नगरपालिका ६ खोले सिमलस्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा बिनोद सुनारले सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुख्य योजनाकार चितवन कालिका नगरपालिका-६ बस्ने ३५ वर्षीय विनोद सुनार, सोही ठाउँ बस्ने २५ वर्षीय विजय विश्वकर्मा र ४२ वर्षीय अन्जना पुडासैनी केसी, तनहुँ म्याग्दी गाउँपालिका-७ बस्ने ५० वर्षीय पूर्ण बहादुर विश्वकर्मा, र बारा बारागढी नगरपालिका-४ बस्ने १८ वर्षीय पवन कुमार पासवान रहेका छन् ।

गत असार १ गते राति करिब साढे आठ बजे मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहले पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियारले धम्क्याएर पसलभित्र रहेको २ करोड १७ लाख ५४ हजार ४१५ बराबरको सुनचाँदी र हिराको गरगहनाहरू लुटपाट गरेका थिए ।

सुनचाँदी पसलका सञ्चालक विनोद सुनारले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी र विभिन्न व्यक्तिहरूबाट लिएको ऋण चुक्ता गर्न जालसाजी गर्ने मनसायले लुटपाटको योजना बनाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

चितवन प्रहरीका अनुसार विनोदले पूर्ण बहादुर र पवन कुमारलाई लुटपाट गर्न लगाएका थिए भने पसलका मेनेजर विजय विश्वकर्माले चोरीमा सहयोग गरेका थिए ।

चोरी गरिएको सुनगहनाहरू लुकाउन विनोदले अन्जना पुडासैनीलाई दिएका थिए, र घटना पछि विनोदले ती गहनाहरू अन्जनाको घरबाट लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077