Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पहिरोले चौरपाटीका १० परिवार विस्थापित, बस्ती उच्च जोखिममा

अछाम । निरन्तर वर्षासँगै आएको पहिरोका कारण चौरपाटी गाउँपालिकामा १० परिवार विस्थापित भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ६ दुनीको सेलपाखामा बस्तीको बिचमा पहिरो जाँदा वरपरका परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा १० वटाभन्दा बढी घर पहिरोको जोखिममा परेका छन् ।

अहिले त्यहाँ बसोबास गरिरहेका १० परिवारलाई स्वास्थ्य इकाईको भवनमा राखिएको वडा अध्यक्ष डबल बहादुर खड्काले जानकारी दिए । अहिलेसम्म पहिरोले घर धेरै क्षति नपुर्‍याए पनि सामान्य क्षति भइसकेको उनले बताए । साथै उनका अनुसार सोही टोलको अर्को बस्ती पनि जोखिममा परेको छ ।

बस्तीमाथि ठूलो ढुंगा रहेको त्यो ढुंगा खसेपछि ठूलो क्षति हुनसक्ने उनको भनाई छ । सो ढुंगालाई फुटाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको टोली खटिएको छ । साथै गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदको टोली पनि सो स्थानमा खटिएको छ ।

“पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई स्वास्थ्य इकाई को भवनसहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”, वडाध्यक्ष खड्काले भने, “मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौँ।”

निरन्तर वर्षाका कारण गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम छ । गाउँपालिकाले शनिबार एक अपिल जारी गर्दै सबैलाई सचेत र सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077