Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

पर्सा । पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किलोमिटर लम्बाइको नमूना सडक तयार पारेको बताए ।

“पथलैयाबाट हेटौँडा आउने सडकको लेन उच्च भारवाहन क्षमताका मालवाहक सवारीसाधनले सडक धसिने समस्या देखिँदै आइरहेको छ । हामीले पहिलो चरणमा आधाभार क्षेत्रमा दुई किलोमिटर सडक स्तरोन्नति गरेका छौँ”, उनले भने, “यो सडक पहिलो चरणमा ‘डिबिएम’ र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरेकाले पनि सडक धासिने समस्या आउने छैन ।”

गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ । ठेक्का सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले तोकिएको समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो ।

सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट सडक कालोपत्र गर्दा लामो समयसम्म टिकाउ हुने दाबी गरे । “हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गरेका छौँ । यो सडक प्रभावकारी भएको खण्डमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077