डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापा रहेका छन् ।
उनी पूर्वीचौकी गाउँपालिका-६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएको बुझिएको छ । घटनामा संलग्न दुईजना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न दिपायल सिलगढी नगरपालिका-८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउदलाई भरुवा बन्दुकसहित गएराती नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार रामबहादुर साउदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।