काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीलाई हटाउने तयारी थालेका छन्।
पछिल्लो समय भइरहेका हवाई दुर्घटनामा प्राधिकरणको भूमिकामाथि प्रश्न उठीरहेका बेला मन्त्री पाण्डेले महानिर्देशक अधिकारीलाई हटाउने संकेत दिएका हुन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले पछिल्ला घटनाको नैतिक जिम्मेवारी लिएर महानिर्देशकले छाड्दा राम्रो हुने बताए।
पर्यटनमन्त्री पाण्डेले डीजी अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भइसकेको समेत जानकारी दिए । उनले अहिले मन्त्रालयमातहतका बेथिति र विसंगतिहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए ।
उनले आफूलाई विकृतिको डंगुरमाथि उभिएको अनुभूतिसमेत भइरहेको बताए ।
पर्यटनमन्त्री पाण्डेले नैतिकता व्यक्तिमा निहीत हुने भएकाले यसमा आफूले बाध्य पार्न नसक्ने भन्दै नेतृत्वमाथि कारबाहीका लागि भोलि कुनै प्रक्रियाबाट उल्टिन नसक्ने उपाय आफूले खोजिरहेको खुलासा गरे।
सरकारले अधिकारीलाई पदबाट हटाउँदा उनी अदालत गएर फेरि पुन:स्थापना हुन सक्ने भन्दै मन्त्री पाण्डेले फर्किएर नआउने गरी हटाउने बताए ।
पर्यटनमन्त्री पाण्डेले आफूले हटाएर कारबाही गरेको व्यक्ति अर्को प्रक्रियाबाट फर्किएमा मन्त्री पदमा बस्न नैतिकरूपमा नमिल्नेसमेत सांसदहरूलाई बताए ।
यसअघि पनि महानिर्देशक अधिकारी विभिन्न भ्रष्टाचारका काण्डहरुमा मुछिँदै आएका छन्।
महानिर्देशक अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भिर रुपमा छानविन गरिरहेको छ।
त्यसो त महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १२ अर्बबाट लागत बढाएर २४ अर्ब पुर्याएका थिए ।