काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।
मन्त्री पाण्डेले बिहीबार पूर्वमहानिर्देशकहरूलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका हुन् ।
उनले नीतिगत, कानुनी र संरचनागत सुधारका लागि पूर्वमहानिर्देशकहरूलाई सुझाव माग गरेका थिए ।
छलफलका क्रममा पूर्वमहानिर्देशकहरूले कतिपय विमान कम्पनीले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले तोकेको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागु नगरेको बताएका थिए ।
उनीहरूले विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेको विषयमा पनि मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।