काठमाडौं । नेपाल प्रहरीमा डीआईजीसहित करिब एक सय वरिष्ठ अधिकृतको अवकाशको मिति नजिकिँदै गर्दा ३० वर्षे सेवाहद हटाउन लबिङ बढ्दै गएको छ ।
आगामी १५ भदौदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीले एकै पटक अवकाश पाउँदै छन् । २०५१ सालमा भर्ना भएका अधिकृतहरू सेवा हदको कारण यसरी एकै पटक बिदा हुन लागेका हुन् ।
अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू ३० वर्षे सेवाहद हटाउनुपर्छ भनेर लागेका छन् । हालै गृह मन्त्रालयले गठन गरेको एक कार्यदलले पनि सेवाहद हटाउन सिफारिस गरेको छ ।
सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले सेवाहद हटाउन भनेको हो । गृह मन्त्रालय सेवाहद हटाउने पक्षमै देखिएको छ । तर, अबका २० दिनभित्र यससम्बन्धी निर्णय हुने सम्भावना कम रहेको अधिकारी बताउँछन् ।
अर्कोतर्फ प्रहरीकै केही अधिकारीहरू सेवाहद हटाउन नहुने भन्दै दबाब दिइरहेका छन् । नेपाल प्रहरीमा डीआईजी विष्णु कुमार केसी, एसएसपीहरु जीवन कुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रवि कुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रबिन्द्र रेग्मीलेअवकाश पाउन लागेका हुन् ।
त्यस्तै, एसपीहरु कृष्ण प्रसाई, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्र कुमार कार्की, टेकनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, नविन किशोर प्रधानले पनि १५ भदौबाट अवकाश पाउँदै छन् ।
सशस्त्र प्रहरीमा डीआईजीहरु अभि कुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई लगायतले पनि सोही मितिबाट अवकाश पाउँदै छन् ।