Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई पत्र - गुणस्तरहीन मदिरामाथिको प्रतिबन्ध यथावत् छ, कारबाही गर्नू

प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई पत्र - गुणस्तरहीन मदिरामाथिको प्रतिबन्ध यथावत् छ, कारबाही गर्नू

मंगलवार , भाद्र २५, २०८१

अछाम । चौरपाटी गाउँपालिकाले आफूले गरेको निर्णय कार्यान्वयन गरिदिन प्रहरी प्रशासनलाई पत्र पठाएको छ ।

सोमबारको कार्यपालिका बैठकले न्यून गुणस्तर भएका मदिरा बिक्रिवितरणमा लगाइएको प्रतिबन्ध यथावत् राख्ने निर्णय गर्दै प्रहरी चौकी सिउँडी र चौखुट्टेलाई कडाइ गर्न पत्र पठाएको हो ।

आइतबार गाउँपालिकाले सर्वदलीय बैठक बोलाएर न्यून गुणस्तर भएका मदिरा खोल्ने/नखोल्नेबारे छलफल गरेको थियो । सो छलफलमा कतिपयले थप कडाइ गर्नुपर्ने र कतिपयले कमसल खालको मदिरा पनि बिक्रिवितरण गर्न पाउनु पर्ने धारणा राखेका थिए ।

तर सोमबारको बसेको कार्यपालिका बैठकले कमसल खालको मदिरामा लगाइएको प्रतिबन्ध यथावत् राख्ने र अन्य मदिरा बच्नमा पनि कडाइ गर्ने निर्णय गरेको थियो ।

यसअघि देखि नै पालिकामा न्यून गुणस्तर भएका मदिरा सेवन गर्ने र बच्नेलाई प्रहरीले गाउँपालिकाको नियम अनुसार कारबाही गर्दै आएको थियो ।

तर पछिल्लो समय भने सबै निकायले यो नियमको पालना गरेका थिएनन् । जसले गर्दा गाउँघरमा व्यापारीहरूले खुलेआम मदिरा बेचबिखन गरिरहेका छन् । अब भने प्रहरी प्रशासनले पनि पालिकाको नियम अनुसार मदिरा बिक्रिवितरण कडाइ गर्ने भएको छ ।

मदिरा बिक्रिवितरण कडाइ गरिदिन हुन भन्दै पालिकाले गाउँपालिकाको क्षेत्रमा रहेका दुवै प्रहरी चौकीलाई पत्र पठाएको हो । प्रहरी चौकी चौखुट्टेका प्रमुख तथा प्रहरी सहायक निरीक्षक (असई) पदम बहादुर साउँदले आज बिहान मात्रै गाउँपालिकाका पत्र आफूले प्राप्त गरेको बताए ।

उनले सबैसँगको सहकार्यमा पालिकाको निर्णयलाई पालना गर्न लगाइने बताए । उनले डोटीको सिमाना नजिकै भएका कारण नियन्त्रण गर्न चुनौती भए पनि निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताए । यस्तै प्रहरी चौकी सिउँडीले पनि गाउँपालिकाले गरेको निर्णय कार्यान्वयनमा लाग्ने दाबी गरेको छ ।

गाउँपालिकाले पनि नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । कमसल खालको मदिरा बिक्रिवितरण गर्न नपाइने, अन्य मदिरा बेलुका ५ बजेदेखि राति ९ बजेसम्म मात्रै बेच्न पाउने गाउँपालिकाको नियम छ ।

पछिल्लो समय खुलेआम गुणस्तरहीन मदिरा बिक्रिवितरण हुन थालेपछि गाउँपालिका आफैले बनाएको नियम कार्यान्वयनमा पछि हटेको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077